कञ्चनपुर – नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल रोक्न नसके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका छन्।
कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्रमा पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले कांग्रेसको एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए। उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि महाधिवेशनको प्रक्रिया रोक्नु नै अहिलेको अवस्थामा उपयुक्त विकल्प भएको धारणा राखे।
लेखकले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई हटाइएका कारण अहिलेको समस्या सिर्जना भएको दाबी गरे। विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका दुवै कार्यसमितिलाई समेटेर विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ।
उनले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पारे। १४औँ महाधिवेशनबाट निर्वाचित तर विशेष महाधिवेशनमा समेटिन नसकेका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समावेश गर्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको उनले बताए।
त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने अवस्था आए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सकिने विकल्पसमेत आफूहरूले दिएको लेखकले जानकारी दिए।
निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत कायम गर्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव आफूहरूको रहेको उनले बताए।
‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने। पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले अझै पनि कांग्रेसलाई एकताबद्ध बनाउने सम्भावना रहेको बताए।
‘अहिले पनि उपाय छ। आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ उनले भने। लेखकले पार्टीभित्रको विवाद समाधानका लागि अदालतको फैसला कुर्नुपर्ने धारणा पनि राखे। आधिकारिकतासम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेको भन्दै उनले अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आएको आधारमा त्यसलाई सम्पूर्ण विवादको समाधानका रूपमा लिन नहुने बताए।
उनले कांग्रेस विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशनको प्रक्रिया अघि बढाउने पक्षले लिनुपर्ने चेतावनीसमेत दिए। कांग्रेसलाई विभाजनबाट जोगाउने अन्तिम उपायका रूपमा आफूले महाधिवेशन रोक्न आग्रह गरिरहेको लेखकको भनाइ छ।



