क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

काठमाडौं – वीरगञ्जस्थित एक क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जनालाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका-१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा इन्स्पेक्टर पौडेलसहित सखुवाप्रसौनी गाउँपालिका-६ का जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका-११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन् ।

त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएको आरोपमा क्यासिनोका कर्मचारीहरू वीरगञ्ज-१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज-२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका-५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज-१२ का ५० वर्षीय प्रदेशी साह पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्