काठमाडौँ – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि सुरुङ तथा विद्युत् गृह क्षेत्रमा आज पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ। मुख्यगरी बाढीपछि सुरुङभित्र फसेका व्यक्तिको खोजीमा सुरक्षा निकाय, आयोजनाका प्राविधिक तथा विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका अनुसार रसुवागढी, त्रिशूली-३ ‘ए’, त्रिशूली-३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका विभिन्न सुरुङ क्षेत्रमा खोज तथा उद्धार भइरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै आयोजनाका प्राविधिक तथा विज्ञहरूलाई समेत अभियानमा परिचालन गरिएको छ। बाढीका कारण सुरुङभित्र लेदो, माटो र अन्य अवरोध थुप्रिएकाले उद्धार टोलीले उपकरण प्रयोग गरी अवरोध हटाउँदै भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ।
रसुवागढी जलविद्युत् आयोजनामा हिजो उद्धार टोली विद्युत् गृहको छैटौँ तलासम्म पुगेर खोजी गरेको थियो। सेनाका अनुसार उक्त क्षेत्रमा खोजी गर्दा अहिलेसम्म कुनै व्यक्ति फेला परेका छैनन्। आयोजनाका अन्य जोखिमयुक्त तथा पहुँच कठिन भएका क्षेत्रमा समेत अवस्था मूल्याङ्कन गर्दै खोजी अघि बढाइएको छ। त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरीका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले सुरुङभित्रको अवस्थाको अध्ययन गर्दै फसेका व्यक्तिको सम्भावित स्थान पहिचान गरी उद्धारको प्रयासलाई तीव्र बनाएको सेनाले जनाएको छ।
त्रिशूली-३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९ जना, तीन जना गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। टोलीले तीन वटा सानो डोजर र जेनेरेटरको प्रयोग गर्दै सुरुङ क्षेत्रमा थुप्रिएको माटो तथा लेदो हटाउने काम गरिरहेको छ। साथै, अडिट-२ टनेलबाट एक्साभेटर लैजान सक्ने गरी बाटो सफा गरिएको छ, जसबाट थप उपकरण सुरुङ क्षेत्रमा पुर्याएर खोजीलाई प्रभावकारी बनाउने तयारी गरिएको छ। चिलिमे जलविद्युत् आयोजनामा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। टोलीले मिनी एक्साभेटर र पम्पको सहायताले सुरुङभित्र जम्मा भएको लेदो हटाउँदै करिब १०५ मिटरभित्रसम्म खोजी गरेको छ। सुरुङभित्र थप प्रवेश गरी सम्भावित रूपमा फसेका व्यक्तिको खोजी गर्न टोलीले निरन्तर काम गरिरहेको जनाएको छ।
यसैगरी, माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको हाकु सुरुङबाट हिजो चिनियाँ नागरिक लु हाइताओलाई जीवितै उद्धार गरिएको थियो। उद्धार टोलीले सुरुङभित्र करिब २५० मिटरको दूरीबाट उनलाई जीवित अवस्थामा फेला पारेको थियो। बाढीपछि विभिन्न सुरुङमा फसेका तीन जना तथा नुवाकोटको विदुरस्थित एक घरबाट एक महिलासहित पछिल्ला दुई दिनमा चार जनालाई जीवितै उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। बाढीपछि सुरुङभित्र फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी चुनौतीपूर्ण बने पनि सुरक्षा निकाय र प्राविधिक टोलीले उपलब्ध सबै साधन तथा उपकरण प्रयोग गरेर खोजीलाई निरन्तरता दिइरहेका छन्। सेनाले सुरुङ क्षेत्रमा जोखिम उच्च रहेकाले प्राविधिक मूल्याङ्कन, सुरक्षा सावधानी र समन्वयलाई प्राथमिकता दिँदै उद्धार अभियान अघि बढाइएको जनाएको छ।



