काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने खेलमा साउदी अरेबियालाई पराजित गरे नेपालले सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्नेछ।
नेपालले प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्दै पहिलो दुई खेलमा बहराइनलाई ७ विकेट र आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको छ। दुवै खेलमा नेपाली बलरले प्रभावशाली प्रदर्शन गर्दै विपक्षी टोलीलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए। नेपाल ४ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ।
साउदी अरेबियाले भने सुरुवाती दुई खेलमा हङकङसँग १६ रन र मलेसियासँग ९३ रनको हार बेहोरेको थियो। तर शुक्रबार भएको तेस्रो खेलमा बहराइनलाई १७ रनले पराजित गर्दै उसले प्रतियोगितामा पहिलो जित निकालेको छ। त्यसैले नेपालविरुद्धको खेलमा साउदी आत्मविश्वासका साथ मैदान उत्रने तयारीमा छ।
नेपालले पहिलो दुई खेलमा पहिले फिल्डिङ गर्दै उत्कृष्ट बलिङ प्रदर्शन गरेको थियो। कप्तानीमा पुनरागमन गरेका सन्दीप लामिछानेले बहराइनविरुद्ध ५ विकेट लिएपछि बहराइन ३७ ओभरभित्रै ८७ रनमा अलआउट भएको थियो। सन्दीपलाई ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिएर राम्रो साथ दिएका थिए।
त्यसैगरी मलेसियाविरुद्ध करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनको प्रभावशाली प्रदर्शनपछि मलेसिया ३३ ओभरभित्र १०३ रनमै समेटिएको थियो। ललित राजवंशीले पनि २ विकेट लिए। पछिल्ला दुई खेलमा नेपाली बलिङ आक्रमणले विपक्षी ब्याटिङलाई लामो समय क्रिजमा टिक्न नदिएकाले साउदी अरेबियाविरुद्ध पनि बलरबाट यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ।
यद्यपि नेपालले साउदी अरेबियालाई कमजोर प्रतिद्वन्द्वीका रूपमा लिने अवस्था छैन। हङकङविरुद्धको पहिलो खेलमा २७४ रनको लक्ष्य पछ्याउने क्रममा साउदी अरेबिया लक्ष्यनजिक पुगेको थियो। त्यस्तै पछिल्लो खेलमा २२१ रनको लक्ष्य रक्षा गर्दै उसले बहराइनलाई २०४ रनमै रोकेको थियो। यी प्रदर्शनले साउदी टोलीको आक्रामक ब्याटिङसँगै दबाबमा पनि लक्ष्य रक्षा गर्न सक्ने क्षमता देखाएको छ।
नेदरल्यान्ड्स भ्रमणमा कमजोर प्रदर्शन गरेपछि नेपाली टोलीमा कप्तानसहित ठूलो परिवर्तन गरिएको थियो। त्यसक्रममा ६ खेलाडीले टोलीमा स्थान गुमाएका थिए। त्यसपछि अवसर पाएका अर्जुन कुमालले ओपनिङमा आत्मविश्वासपूर्ण ब्याटिङ गर्दै आफ्नो क्षमता देखाइरहेका छन्। तर उनका ओपनिङ जोडी आसिफ शेखले भने पहिलो दुई खेलमा जम्मा १८ रन मात्र बनाउन सकेका छन्। मलेसियाविरुद्धको खेलमा आसिफ शून्यमै आउट भएका थिए।
नेपाल र साउदी अरेबियाबीच यसअघि पनि एसीसी प्रतियोगितामा भेट भएको छ। सन् २०२३ मा एकदिवसीय संरचनाको पछिल्लो एसीसी प्रिमियर कपमा मूलपानीमा भएको खेल वर्षाका कारण एक बल पनि नफाली रद्द भएको थियो। त्यसअघि सन् २०१२ मा दुबईमा भएको एसीसी ट्रफी एलिटको अन्तिम संस्करणमा नेपालले साउदी अरेबियालाई ९ विकेटले पराजित गरेको थियो।
समूह ‘ए’ मा नेपाल र हङकङको समान ४ अंक छ। हङकङले शनिबार मलेसियालाई सुपर ओभरमा पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो। उक्त खेलमा हङकङले दिएको २१० रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०९ रन बनाएपछि खेल टाई भएको थियो। सुपर ओभरमा हङकङ विजयी भयो।
नेपालले साउदी अरेबियालाई पराजित गरे सेमिफाइनल यात्रा निश्चित हुनेछ। नेपालले प्रतियोगिताको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। ४ अंक जोडेको मलेसियाको सेमिफाइनल सम्भावना भने कमजोर बनेको छ र नेपालले अन्तिम खेलमा हङकङलाई पराजित गरेमा मात्र मलेसियाको अन्तिम चारमा पुग्ने सम्भावना रहनेछ।



