रसुवा बाढीपीडितका लागि एमालेले १ करोड २० लाख सहयोग गर्ने

काठमाडौं – नेकपा (एमाले) ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त सहयोगको घोषणा गर्नुभएको हो।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट १०-१० लाख रुपैयाँ गरी २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष ओलीले प्राकृतिक विपत्तिको यस कठिन समयमा पार्टीले आफ्नो तहबाट सक्दो सहयोग गर्ने बताउनुभयो। उहाँले विपद् व्यवस्थापनका लागि पार्टी केन्द्रीय तहबाटै कोष परिचालन गरिने र त्यसबाट कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिनुभयो।

भोटेकोशी बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवन तथा नारायणी नदीको तल्लो तटीय क्षेत्रमा समेत ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार, राहत वितरण र विस्थापित नागरिकको पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामा एमालेले आर्थिक सहयोग गर्ने घोषणा गरेको हो। पार्टीले विपद्को समयमा राजनीतिक आस्थाभन्दा माथि उठेर प्रभावित नागरिकको उद्धार तथा राहतमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै आएको छ। एमालेले आफ्नो पार्टी संरचना तथा कार्यकर्तामार्फत समेत प्रभावित क्षेत्रमा आवश्यक सहयोग र समन्वय गर्ने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्