प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेका खोज, उद्धार तथा राहतका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

भेटमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण, पुनर्स्थापना तथा विपद् व्यवस्थापनका लागि सरकारले गरिरहेका कामबारे छलफल भएको थियो । साथै प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने थप सहयोग तथा व्यवस्थापनका विषयमा समेत कुराकानी भएको जनाइएको छ । यसैबीच, प्रधानमन्त्री शाहले आजै भोटेकोशी बाढीबाट उत्पन्न संकटबारे सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गर्नुभएको छ । प्रधानसेनापति अशोकराज सिग्देललगायत सुरक्षा निकायका प्रमुखहरूसँग भएको छुट्टाछुट्टै छलफलमा प्रधानमन्त्री शाहले हालसम्म सञ्चालन भएका खोज तथा उद्धार, राहत वितरण र समग्र व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुभएको दाहालले बताउनुभयो ।

प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन, जोखिममा रहेका नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा राहत वितरणलाई व्यवस्थित बनाउन आवश्यक समन्वयमा जोड दिनुभएको बताइएको छ । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रमा समेत खोज तथा उद्धार कार्य जारी छ । सरकारले सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई परिचालन गरी प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई निरन्तरता दिइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्