भोटेकोशी बाढीपीडितका लागि अमेरिकाबाट गायक शंकर सिंह विष्ट र गायिका चाँदनी मल्लको सहयोग

काठमाडौं – भोटेकोशीमा आएको भीषण बाढीका कारण देश शोक र पीडामा रहेका बेला अमेरिकामा बस्दै आएका गायक शंकर सिंह विष्ट र गायिका चाँदनी मल्लले बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन् । कलाकार दम्पती विष्ट र मल्लले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले सकेको सहयोग गरेका हुन् । उनीहरूले अमेरिकी डलर ३२८.५० र नेपाली रुपैयाँ ५० हजार १११ गरी सहयोग गरेका छन् ।

विपद्का कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला आफूहरू भौगोलिक रूपमा परदेशमा रहे पनि देश र नेपाली नागरिकप्रतिको जिम्मेवारी तथा माया सधैँ साथमा रहेको उनीहरूले बताएका छन् । गायक विष्ट र गायिका मल्लले सामाजिक सञ्जालमार्फत आफ्नो सहयोगबारे जानकारी दिँदै भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकको पीडाले आफूहरूलाई पनि भावुक बनाएको उल्लेख गरेका छन् । देशमा रहेका आफन्त, दाजुभाइ तथा दिदीबहिनीहरूको दुःख र पीडा सम्झँदा परदेशमा रहेर पनि मन अत्यन्तै दुखेको उनीहरूको भनाइ छ ।

उनीहरूले सहयोग रकम ठूलो नभए पनि त्यसमा देशप्रतिको माया, विपद्मा परेका नागरिकप्रतिको सहानुभूति र दुःखमा साथ दिने भावना जोडिएको बताएका छन् । विष्ट र मल्लले विपद्को समयमा कोही पनि एक्लो र बेसहारा नहोस् भन्ने उद्देश्यले सबैलाई आ-आफ्नो क्षमताअनुसार सहयोग गर्नसमेत आग्रह गरेका छन् । उनीहरूले देश तथा विदेशमा रहेका नेपालीलाई सक्ने सहयोग गर्न अपिल गर्दै सानो सहयोगले पनि विपद्मा परेका नागरिकको जीवनमा ठूलो आशा जगाउन सक्ने बताएका छन् ।

भोटेकोशीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि स्वदेश तथा विदेशमा रहेका नेपालीबाट पीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम जारी छ । यसै क्रममा कलाकार दम्पती विष्ट र मल्लले पनि आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्दै विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गरेका हुन् । गायक शंकर सिंह विष्ट र गायिका चाँदनी मल्ल नेपाली सांगीतिक क्षेत्रमा सक्रिय कलाकार हुन् । उनीहरू हाल परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका छन् । संकटका बेला देशप्रतिको माया र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आफूहरूले सहयोग गरेको उनीहरूले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्