काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट जानकारी लिनुभएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार सभापति लामिछानेले विपद् प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले काम गर्न पार्टीका सम्पूर्ण तह तथा निकायलाई निर्देशन दिनुभएको हो ।
उहाँले उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित सरकारी एवं स्थानीय निकायबीच आवश्यक समन्वय गरी प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउन निर्देशन दिनुभएको प्रवक्ता खरेलले जानकारी दिनुभयो । लामिछानेले बाढीबाट प्रभावित स्थानीय तहका पार्टी सभापतिहरूसँग समेत छलफल गरी खोज तथा उद्धारको अवस्था, राहत वितरण र स्थानीयस्तरमा देखिएका समस्याबारे जानकारी लिनुभएको छ ।
विपद्को समयमा राजनीतिक गतिविधिभन्दा प्रभावित नागरिकको उद्धार, राहत र सहयोगलाई प्राथमिकता दिनुपर्ने भन्दै रास्वपाले आफ्नो पार्टी संयन्त्रलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने जनाएको छ।



