काठमाडौं – रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरे पनि बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको जनाएको छ। यसअघि बिहान ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको भन्दै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले नदी आसपासका बासिन्दालाई मानवीय तथा भौतिक क्षतिबाट जोगिन सतर्क रहन आग्रह गर्नुभएको थियो।
तर, महाशाखाले भदौ १४ गते बिहान ५ः४५ बजे जारी गरेको अद्यावधिक सूचनामा भोटेकोशीको बहाव केही बढे पनि अवस्था त्रासपूर्ण नरहेको स्पष्ट पारेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार नदीको बहाव बढेको भए पनि यसअघिको जस्तो ठूलो बाढीको अवस्था नरहेको महाशाखाले जनाएको छ। नुवाकोटतर्फ पनि नदीको बहाव केही बढेको तर ठूलो नभएको जनाइएको छ। नदी किनारका स्थानीयले बाढीको अवस्थाबारे सामाजिक सञ्जालमा श्रव्य–दृश्य सामग्रीसमेत सार्वजनिक गरिरहेका छन्।
महाशाखाका अनुसार हाललाई रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम देखिएको छैन। यद्यपि, केही दिनअघि मात्रै भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएकाले नदीको बहावमा सामान्य वृद्धि हुँदा समेत स्थानीयमा त्रास बढेको हो। महाशाखाले परिस्थितिमा परिवर्तन आएमा आवश्यक पूर्वसूचना जारी गर्ने जनाएको छ। स्थानीयवासीलाई आधिकारिक सूचना हेर्न र अनावश्यक हल्लाको पछि नलाग्नसमेत आग्रह गरिएको छ।




