नेपाल-चीन सीमा क्षेत्रमा बनेको ताल ओभरफ्लो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरो तथा पहिरोका कारण नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ दूतावासले आग्रह गरेको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै सीमा नदीको माथिल्लो क्षेत्रमा झरेको पहिरोका कारण बनेको तालमा पानीको सतह निकै माथि पुगेको र ‘ओभरफ्लो’ हुन थालेकाले जोखिम थप बढेको जनाएको हो ।

तालमा पानीको सतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रमा नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले स्थानीय बासिन्दा तथा सम्बन्धित निकायलाई विशेष सावधानी अपनाउन दूतावासले आग्रह गरेको छ । उद्धार तथा आपत्कालीन प्रतिकार्यका दृष्टिले अवस्था अत्यन्त संवेदनशील रहेको भन्दै दुवै देशका सम्बन्धित अधिकारीहरू घटनास्थलको अवस्था र नदीको बहावबारे निरन्तर निगरानीमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ दूतावासले तालभन्दा तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुन सक्ने परिवर्तनबारे सचेत रहन र आवश्यक पूर्वतयारी तथा सुरक्षा सतर्कता अपनाउन अपील गरेको छ । यसैगरी, घटनासँग सम्बन्धित गलत तथा भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिन सक्ने भन्दै दूतावासले आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ । अनावश्यक त्रास र भ्रम सिर्जना हुने गतिविधि नगर्नसमेत दूतावासले अनुरोध गरेको छ ।

नदीको माथिल्लो क्षेत्रमा बनेको तालबाट पानीको बहाव बढ्दै गएको अवस्थामा नेपालतर्फका भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा समेत जोखिम हुन सक्ने भएकाले सम्बन्धित निकायले उद्धार तथा विपद् प्रतिकार्यका लागि आवश्यक तयारीलाई थप तीव्र बनाउनुपर्ने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्