काठमाडौँ – प्राकृतिक विपत्तिका कारण रसुवाको गोसाइँकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकलाई सुरक्षित रूपमा काठमाडौँ फर्कन सरकारले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । रसुवाको धुन्चेतर्फको नियमित पदमार्ग अहिले विपद् प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा परेकाले तत्कालका लागि नुवाकोटको समुन्द्रटार रुटलाई सुरक्षित विकल्पका रूपमा प्रयोग गर्न सरकारले सुझाव दिएको हो ।
गोसाइँकुण्डबाट काठमाडौँ फर्कन चाहने तीर्थयात्री तथा पर्यटकले सूर्यकुण्ड पास हुँदै हाई क्याम्प, फेदी, तालु, सिसिपु, घ्यामफेदी हुँदै समुन्द्रटार पुग्ने मार्ग प्रयोग गर्न सक्नेछन् । हालको अवस्थामा यो मार्ग तुलनात्मक रूपमा सुरक्षित रहेकाले यही बाटोलाई प्राथमिकता दिन सरकारले आग्रह गरेको छ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा तथा आसपासका क्षेत्रमा सडक तथा पदमार्गमा क्षति पुगेको र कतिपय स्थानमा पहिरो तथा कटानको जोखिमसमेत बढेको छ । यस्तो अवस्थामा जोखिमयुक्त धुन्चे रुट प्रयोग गर्दा यात्रुहरू थप समस्यामा पर्न सक्ने भएकाले सरकारले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।
सरकारले प्रतिकूल मौसम तथा सम्भावित प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि गोसाइँकुण्डतर्फ नयाँ यात्रा सुरु नगर्न समेत सर्वसाधारणलाई सचेत गराएको छ । उद्धार तथा आवतजावतका लागि प्रयोग भइरहेका मार्गको अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ । आगामी केही दिनको मौसम तथा सम्भावित जोखिमबारे पूर्ण रूपमा पूर्वानुमान गर्न कठिन रहेको भए पनि हालसम्म प्राप्त सूचनाका आधारमा समुन्द्रटार रुट तुलनात्मक रूपमा सुरक्षित रहेको सरकारको भनाइ छ । त्यसैले गोसाइँकुण्ड क्षेत्रमा रोकिएका यात्रु तथा पर्यटकलाई सुरक्षित रूपमा फर्काउने क्रममा यही मार्गलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।



