भोटेकोशी बाढीको कहर: चितवनमा मात्रै ६४ शव फेला, अझै सयौँ शव भेटिन सक्ने अनुमान

चितवन – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बगेका ६४ वटा शव चितवनमा मात्रै फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बाढीपछि बेपत्ता भएका तथा नदीले बगाएका व्यक्तिको खोजी कार्य अझै जारी रहेकाले जिल्लामा थप ठूलो संख्यामा शव फेला पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार बिहान सूचना जारी गर्दै बाढीका कारण देशले अपूरणीय जनधनको क्षति व्यहोर्नुपरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार बिहानसम्म चितवनमा मात्रै ६४ वटा शव फेला परिसकेका छन् । नदी तथा आसपासका क्षेत्रमा खोजी कार्य निरन्तर भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ ।

प्रशासनले प्रारम्भिक अवस्थाको मूल्याङ्कन गर्दा चितवनमा अझै सयौँ शव फेला पर्न सक्ने सम्भावना रहेको जनाएको छ । ठूलो संख्यामा शव फेला पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै शवको सुरक्षित व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्दै गएको प्रशासनको भनाइ छ । चितवनमा रहेका स्वास्थ्य संस्थाको क्षमताअनुसार हाल बढीमा ५० वटा शव मात्र राख्न सकिने अवस्था रहेको प्रशासनले जनाएको छ । थप शव फेला परेमा व्यवस्थापनमा समस्या आउन सक्ने भएकाले आपत्कालीन व्यवस्थापन रणनीति अपनाउनुपर्ने अवस्था सिर्जना भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न स्थानमा शव फेला परेमा तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सूचना उपलब्ध गराउनसमेत प्रशासनले अनुरोध गरेको छ । प्रशासनले बाढी तथा पहिरोबाट क्षतिग्रस्त शवका विभत्स तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न विशेष आग्रह गरेको छ । यस्ता तस्बिर तथा दृश्य सार्वजनिक हुँदा पीडित परिवारमा थप पीडा पुग्नुका साथै सर्वसाधारणमा त्रास, तनाव र आतंकको अवस्था सिर्जना हुनसक्ने भएकाले संवेदनशीलता अपनाउन प्रशासनले अपिल गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद्को यस संवेदनशील अवस्थामा सबैले मानवीय संवेदना कायम राख्न आग्रह गर्दै शव भेटिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन र मृतकका विभत्स तस्बिर सार्वजनिक नगर्न अनुरोध गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्