काठमाडौँ – बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यका जोड्ने प्रमुख सडकसहित कोशी र बागमती प्रदेशका विभिन्न सडक खण्डमा पूर्ण तथा आंशिक रूपमा सवारी आवागमन प्रभावित भएको छ ।
काठमाडौँ भित्रिने र बाहिरिने प्रमुख लाइफलाइनका रूपमा रहेको नागढुंगा-मुग्लिन सडक खण्ड बाढीको सम्भावित जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ । भदौ १० गते बिहान १० बजेदेखि उक्त सडकमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ । बागमती प्रदेशका अधिकांश सडकमा समेत बाढी तथा पहिरोको जोखिम बढेको छ । बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म पूर्ण रूपमा सवारी सञ्चालनमा रोक लगाइएको छ । दिउँसोको समयमा भने सडकको अवस्था हेरेर मात्रै सवारी सञ्चालन गर्न दिइने जनाइएको छ ।
त्यस्तै, कान्ति लोकपथअन्तर्गत हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर सडक खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ । त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकअन्तर्गत उत्तरगया-५ खाल्टेमा आएको बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । नुवाकोट जाने टोखा-छहरे सडक खण्डमा पनि रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटका अन्य केही प्रमुख सडक खण्डसमेत बाढीका कारण अवरुद्ध रहेका छन् ।
उता, इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । झापाबाट ताप्लेजुङ जाने यात्रुका लागि भने वैकल्पिक सडक प्रयोग गर्न सकिने बताइएको छ । पछिल्लो समय लगातार वर्षा तथा विभिन्न नदीमा आएको बाढीका कारण सडकमा पहिरो, कटान र डुबानको जोखिम बढेकाले प्रहरीले सर्वसाधारणलाई अत्यावश्यकबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ ।
प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न नजिकको प्रहरी कार्यालयसँग सम्पर्क गर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका सूचनाको पालना गर्न समेत अनुरोध गरेको छ ।




