भोटेकोशी बाढीमा स्थानीय बाहेक साढे ६ सय सम्पर्कविहीन

तस्बिरःसुजन गुरुङ, गोरखापत्र

काठमाडौं – भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूलीलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ। बाढीपछि पर्यटक, सरकारी कर्मचारी, सुरक्षाकर्मी, बैंकका कर्मचारी तथा जलविद्युत् आयोजनामा कार्यरत कामदारसहित सयौँ व्यक्ति सम्पर्कविहीन भएका छन्।

अध्यागमन कार्यालय रसुवागढीस्थित टिमुरेका अधिकृत यादव भण्डारीसहित चार जना कर्मचारी बुधबार बिहानदेखि विभाग र परिवारको सम्पर्कमा छैनन्। अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार कार्यालयमा पाँच जनाको दरबन्दी रहेकामा एक जना बिदामा थिए। बाँकी अधिकृत, नायब सुब्बा, खरिदार र कार्यालय सहयोगी सम्पर्कविहीन छन्।

बाढीको खबर आएलगत्तै भण्डारीलाई फोन गर्दा सम्पर्क हुन नसकेको र केही समयपछि उनको मोबाइल ‘स्वीच अफ’ देखाउन थालेको उनका सहकर्मीले बताएका छन्। परिवारका सदस्यले समेत खोजी गरिरहेका छन्।

त्यस्तै, अध्यागमन कार्यालयसँगै रहेको रसुवागढी भन्सार कार्यालयका १५ जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको भन्सार कार्यालय प्रमुख अधिकृत राजेन्द्र ढुंगानाले बताएका छन्। आफू भने बाढी आउँदा जंगलतर्फ भागेर ज्यान जोगाउन सफल भएको उनले बताए।

३८४ पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डका अनुसार बाढीमा परी ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। तीमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेको बोर्डले जनाएको छ। उनीहरू कैलाश मानसरोवर, लाङटाङ र गोसाइँकुण्ड भ्रमणमा गएका थिए।

बोर्डका प्रमुख हिक्मतसिंह ऐरका अनुसार सम्पर्कविहीन विदेशी पर्यटकमध्ये भारतीय नागरिकको संख्या धेरै छ। उनीहरूको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको बोर्डले जनाएको छ।

८३ सुरक्षाकर्मी बेपत्ता

बाढीपछि ८३ जना सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रसुवा र नुवाकोटमा ४४ जना नेपाली सेना, ३० जना नेपाल प्रहरी र ९ जना सशस्त्र प्रहरीका अधिकारी सम्पर्कविहीन रहेको विवरण आएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद धमलाका अनुसार रसुवामा सम्पर्क स्थापित हुन नसकेका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

नौ बैंकका शाखा बगे, २६ कर्मचारी सम्पर्कविहीन

रसुवामा आएको बाढीले नौवटा वाणिज्य बैंकका शाखा कार्यालयमा क्षति पुर्‍याएको छ। नेपाल बैंकर्स संघका अनुसार ती शाखामा कार्यरत करिब २६ जना कर्मचारीसँग अझै सम्पर्क हुन सकेको छैन।

माछापुच्छ्रे, नबिल, सानिमा, लक्ष्मी सनराइज, हिमालयन, प्रभु, ग्लोबल आईएमई, इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकका शाखा रसुवामा रहेका थिए। टेलिफोन सेवा अवरुद्ध हुनुका साथै विद्युत् आपूर्ति बन्द भएकाले कर्मचारीसँग सम्पर्क गर्न कठिनाइ भइरहेको संघले जनाएको छ।

जलविद्युत् आयोजनाका १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विभिन्न जलविद्युत् आयोजनामा कार्यरत १३३ जनाभन्दा बढी कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन भएका छन्।

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत मात्रै ६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन भएको जनाइएको छ। आयोजनाका प्रवर्द्धक विजयमोहन भट्टराईका अनुसार २५ जना इन्जिनियर, चालक, खाना पकाउने कर्मचारीलगायत तथा सुरुङभित्र काम गरिरहेका ३५ जनासँग बिहानदेखि सम्पर्क हुन सकेको छैन।

विभिन्न जिल्लाका नागरिक पनि सम्पर्कविहीन

रसुवा तथा नुवाकोटमा रोजगारी र तीर्थयात्राका लागि पुगेका विभिन्न जिल्लाका नागरिकसमेत सम्पर्कविहीन भएका छन्। गोरखा, सल्यान, दाङ र डडेलधुरालगायत जिल्लाका परिवारले आफ्ना आफन्तको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

गोरखाको पालुङटारबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएको ३८ जनामध्ये ३२ जना सम्पर्कविहीन रहेको विवरण आएको छ। उनीहरू बोकेको बससमेत रसुवाको दोभान क्षेत्रमा सम्पर्कविहीन भएको बताइएको छ।

त्यस्तै, रसुवामा काम गर्दै आएका सल्यानका २९ जना बाढीपछि सम्पर्कविहीन भएको स्थानीय प्रशासनले जनाएको छ। दाङ प्रशासनले पनि रसुवा तथा नुवाकोटमा कामका सिलसिलामा पुगेका १० जना जिल्लावासी सम्पर्कविहीन भएको जनाएको छ।

डडेलधुराबाट रसुवाका विभिन्न जलविद्युत् आयोजनामा काम गर्न गएका नौ जना पनि सम्पर्कमा नरहेको परिवारका सदस्यले बताएका छन्।

सम्पर्कविहीनको संख्या अझै यकिन हुन सकेन

नुवाकोटका प्रमुख प्रशासकीय अधिकृत रूपेशप्रसाद नेपालका अनुसार बाढीपछि विभिन्न स्थानबाट मानिस सम्पर्कविहीन भएको सूचना आए पनि वास्तविक संख्या यकिन गर्न सकिएको छैन। उद्धार टोलीले दिनभर विभिन्न स्थानमा उद्धार कार्य गरिरहेको र ५७ जनाभन्दा बढीको उद्धार गरिसकेको उनले बताएका छन्।

बाढीका कारण टेलिफोन, विद्युत् तथा सडक सञ्जालमा समेत ठूलो क्षति पुगेकाले सम्पर्कविहीनको वास्तविक अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको छ। स्थानीय प्रशासनका अनुसार उद्धार तथा खोजी अभियान जारी रहेकाले सम्पर्कविहीन व्यक्तिको संख्या थप बढ्न सक्ने वा प्रारम्भिक विवरणमा परिवर्तन हुन सक्ने अवस्था छ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, स्थानीय प्रशासन तथा उद्धार टोलीले खोजी र उद्धारलाई तीव्रता दिएका छन्। दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा उद्धार टोली पुग्नसमेत चुनौती देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्