काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकलाई नेपाल टेलिकमले सञ्चार सेवामा राहत दिने भएको छ। टेलिकमले प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई दुई दिनसम्म निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डेटा र ५० वटा एसएमएस उपलब्ध गराउने जनाएको छ।
बाढीका कारण सञ्चार सम्पर्क प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै टेलिकमले सेवाग्राहीलाई आवश्यक सूचना तथा चेतनामूलक सन्देश एसएमएसमार्फत पठाइरहेको छ। साथै, सचेतनामूलक रिङब्याक टोनसमेत सञ्चालनमा ल्याइएको जनाएको छ।
प्रारम्भिक विवरणअनुसार बाढीका कारण रसुवाका दुई र नुवाकोटका पाँच गरी सातवटा टेलिकम टावरमा क्षति पुगेको छ। गल्छीदेखि रसुवा बोर्डरसम्मको फाइबर लिंकमा समेत क्षति पुगेपछि केही क्षेत्रमा सञ्चार सेवा प्रभावित भएको हो।
क्षतिग्रस्त टावर तथा फाइबर संरचना मर्मत गरी सेवा यथाशीघ्र नियमित बनाउन नेपाल टेलिकमका प्राविधिक टोली प्रभावित क्षेत्रमा निरन्तर खटिएको टेलिकमले जनाएको छ।
बाढीको विपद्का बेला उद्धार, राहत तथा परिवारजनसँग सम्पर्कका लागि सञ्चार सेवा अत्यावश्यक हुने भएकाले निःशुल्क सेवा प्रभावित नागरिकका लागि महत्वपूर्ण सहयोग बन्ने अपेक्षा गरिएको छ।



