काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आज बसेको १२५औँ बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो।
राखेपका अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता आगामी पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
बैठकले २०औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियलको नामावलीसमेत अनुमोदन गरेको छ।
बैठकमा मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन सम्बन्धित सबै पक्ष एकताबद्ध भएर तयारीमा जुट्न आग्रह गर्नुभयो।
बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तथा परिषद्का बोर्ड सदस्यहरूको उपस्थिति थियो। बैठकमा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले विभिन्न विषय प्रस्तुत गर्नुभएको थियो।



