रोल्पा । अविरल वर्षासँगै रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। साउन २७ गते बेलुका गएको पहिरोमा परी पाँच जना अझै बेपत्ता छन्।
पहिरोमा परी सोही ठाउँका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूलाई थवाङ स्वास्थ्य चौकीबाट थप उपचारका लागि बुटवल पठाइएको छ।
बेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। लगातार वर्षासँगै लेदोसहितको पहिरो खसिरहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, करिब ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।
मृतकमध्ये एक महिला र दुई पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिका क्षेत्रमा पर्ने माडी खोलाको किनारमा फेला परेको छ। त्यसपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट विपद् व्यवस्थापनसहितको टोलीसमेत बेपत्ताको खोजीका लागि परिचालन गरिएको छ।
बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर रहेका छन्।
पहिरोमा परी मृतक कमलबहादुर पुन मगरको घरसहित अन्य घर तथा गोठ पुरिएका छन्। पहिरोमा परी पशुचौपायासमेत बेपत्ता भएको जनाइएको छ।



