राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको हुँ : देउवा

 

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेता बनेर नभई यस महान् राष्ट्रको आजीवन नागरिक बनेर स्वदेश फर्किएको बताउनुभएको छ ।

करिब पाँच महिना लामो उपचारपछि स्वदेश फर्किनुभएका देउवाले अपीलपत्र जारी गर्दै आफू विनम्रता, समर्पण र प्रेमका साथ राष्ट्रको सेवा गर्न तयार रहेको उल्लेख गर्नुभएको छ । उहाँले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताउनुभएको हो ।

आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गर्दै देउवाले पाँच महिनापछि स्वदेश फर्किन पाउँदा आफू खुशी भएको बताउनुभएको छ ।

२०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग उल्लेख गर्दै देउवाले ४७ वर्षपछि पुनः राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभएको छ ।

देउवाले प्रतिशोधको बाटो नभई मेलमिलापको मार्ग रोज्न सबैलाई आह्वान गर्नुभएको छ । उहाँले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशालाई समेत तत्काल सम्बोधन गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्