देउडा गायिका रेखा जोशी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा मनोनीत

 

काठमाडौं – सुदूरपश्चिमको मौलिक लोकसंस्कृति तथा देउडा गायनमा लोकप्रिय गायिका रेखा जोशी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा मनोनीत हुनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको पत्रअनुसार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६६ को दफा ८ को उपदफा (१) बमोजिम गठित समितिको सिफारिसका आधारमा प्रधानमन्त्रीको २०८३ साउन १९ गतेको निर्णयअनुसार जोशीलाई प्राज्ञ सभा सदस्यमा मनोनीत गरिएको हो।

कञ्चनपुरमा जन्मिनुभएकी जोशी सुदूरपश्चिमको देउडा तथा लोकसंगीत क्षेत्रमा परिचित नाम हुनुहुन्छ। उहाँले रेडियो कार्यक्रम प्रस्तोताका रूपमा सांगीतिक यात्रा सुरु गर्नुभएको थियो। रेडियोमा कार्यक्रम सञ्चालन गर्ने क्रममा गायन क्षेत्रमा प्रवेश गर्नुभएकी जोशीको पहिलो देउडा गीत ‘घुटुक्क बाडुली लाग्या’ रहेको बताइन्छ।

देउडा, ठाडी भाकालगायत सुदूरपश्चिमका मौलिक लोकभाकामा स्वर दिनुभएकी जोशीका ‘लाग्या कि जून भैजाउ’, ‘दारु च्याउडी’, ‘लै लै’, ‘शर्माली क्याम्पस गेट’, ‘मैना’, ‘झल्का पनि’ र ‘वनपाखा न्याउली’ लगायत गीत चर्चित छन्।

सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा तथा लोकभाकालाई गीतसंगीतमार्फत देश तथा विदेशसम्म पुर्‍याउन योगदान दिँदै आउनुभएकी जोशीको प्राज्ञ सभा सदस्यमा भएको मनोनयनलाई देउडा तथा लोकसंगीत क्षेत्रले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

प्राज्ञ सभा सदस्यका रूपमा जोशीले सुदूरपश्चिमको देउडा, लोकभाका, भाषा, संस्कृति तथा मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उहाँलाई मनोनयनप्रति बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्