काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई प्रश्न र खबरदारी गरेकै कारण आफूविरुद्ध साइबर बुलिङ तथा चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै शाहीले आफूलाई मदिरा सेवन गरेको तथा अश्लील भिडियोसँग जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको दाबी गरेका हुन्।
आफ्नो नाम जोडेर अश्लील भिडियो प्रसार गरिएको भन्दै उनले त्यसबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे। सरकारसँग कर्णालीका जनताको समस्या र पीडाका विषयमा प्रश्न उठाएपछि आफूविरुद्ध व्यक्तिगत आक्रमण तथा चरित्र हत्या सुरु भएको उनको दाबी थियो।
शाहीले आफू कर्णालीका जनताको पीडामा आवाज उठाउने भन्दै सरकार कुन दलको हो भन्ने नहेर्ने बताए। सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या र गलत सूचना फैलाउने गतिविधि कलाकार, खेलाडी, पत्रकार तथा व्यवसायीले समेत भोगिरहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिमा संलग्नलाई सरकारले कानुनी कारबाही गर्नुपर्ने बताए।
प्रतिपक्षको मुख्य जिम्मेवारी नै सरकारलाई प्रश्न गर्ने र खबरदारी गर्ने भएको भन्दै शाहीले प्रतिपक्षलाई सरकारको विरोधीका रूपमा नबुझ्न आग्रह गरे। ‘प्रतिपक्ष हामी विरोधी होइन, तपाईंको सहयात्री हो,’ उनले भने।
आफूहरू सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पार्दै शाहीले वर्तमान राजनीतिक अंकगणितमा प्रतिपक्षले सरकार ढालेर नयाँ सरकार बनाउन सक्ने अवस्था नरहेको बताए। जनताबाट निर्वाचित वर्तमान सरकार पाँच वर्ष टिकेर काम गरोस् र प्रतिपक्षको आवाजलाई पनि सरकारले सुन्ने वातावरण बनोस् भन्ने आफूहरूको चाहना रहेको उनको भनाइ थियो।



