इलाम बन्दै छ खोरेतमुक्त जिल्ला, छुर्पीसहित दुग्धजन्य उत्पादनले पाउने अन्तर्राष्ट्रिय बजार

काठमाडौं – सरकारले इलाम जिल्लालाई खोरेत (फुट एन्ड माउथ डिजिज) रोगमुक्त क्षेत्रका रूपमा विकास गर्ने अभियानलाई तीव्र बनाएको छ। पशु सेवा विभागले कोशी प्रदेशको इलामका सबै १० स्थानीय तहमा विशेष जोनिङ कार्यक्रम सञ्चालन गर्दै नियमित खोप, रोग निगरानी, पशु पहिचान, क्वारेन्टाइन व्यवस्थापन र प्रयोगशाला परीक्षणलाई प्रभावकारी बनाएको जनाएको छ।

विभागका अनुसार खोरेत रोग नियन्त्रणमा सफलता हासिल गर्दै इलामलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार रोगमुक्त क्षेत्रको मान्यता दिलाउने लक्ष्य राखिएको छ। यसबाट जिल्लामा उत्पादन हुने छुर्पी, दूध तथा दुग्धजन्य पदार्थ, मासु र अन्य पशुजन्य उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच पाउने अपेक्षा गरिएको छ। इलाम नेपालकै प्रमुख दुग्ध उत्पादन क्षेत्रमध्ये एक हो। यहाँ हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको छुर्पी उत्पादन हुने गरेको छ। खोरेतमुक्त क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि इलाममा उत्पादित छुर्पी तथा अन्य पशुजन्य वस्तुको निर्यात विस्तार हुने, किसानले उत्पादनको उचित मूल्य पाउने र जिल्लाको आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने विभागको विश्वास छ।

पशु सेवा विभागले खोरेत रोग नियन्त्रणका लागि देशभर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेको छ। प्राविधिकका अनुसार खुरफट्टा जनावरमा वर्षमा दुई पटक, प्रत्येक ६ महिनाको अन्तरालमा खोप लगाउनु रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो। यससँगै सरकारले सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिका तथा मकवानपुरको बागमती र बकैया गाउँपालिकामा पनि विशेष जोनिङ कार्यक्रम सञ्चालन गरेको छ। यी क्षेत्रलाई भविष्यमा खोरेतमुक्त बनाउँदै चीनलगायतका अन्तर्राष्ट्रिय बजारमा राँगा–भैँसीको मासु निर्यात गर्ने लक्ष्य सरकारको रहेको छ।

पशु सेवा विभागले किसान, पशुपालक र स्थानीय तहको सक्रिय सहभागिताबाट खोरेतमुक्त नेपालको लक्ष्य हासिल गर्दै पशुधनको उत्पादकत्व वृद्धि, किसानको आयआर्जनमा सुधार तथा नेपाली पशुजन्य उत्पादनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढाउने विश्वास व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्