काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अरूको आलोचना गरेर वा ढुङ्गा हानेर गन्तव्यमा पुग्न नसकिने बताएका छन्। बीपी स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरेक आलोचनाको प्रतिवादमा मात्र अल्झिँदा मूल लक्ष्य ओझेलमा पर्न सक्ने भन्दै बीपी कोइरालाको विचार, संस्कार र दर्शनलाई २१औँ शताब्दीका युवाको सोचसँग जोडेर समुन्नत नेपालको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
शर्माले कांग्रेसले केवल राजनीतिक एजेन्डामै सीमित नभई बालश्रम उन्मूलन, गुणस्तरीय शिक्षा र सक्षम शिक्षक उत्पादनजस्ता दीर्घकालीन सामाजिक मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। क्रान्तिका लागि बलिदान दिने योद्धासँगै सामाजिक रूपान्तरण, सुशासन र नयाँ सोच भएका नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै उनले गगन थापाको नेतृत्वमा रहेको कांग्रेसको टिम बीपीको सिद्धान्तअनुसार नयाँ सोच, नयाँ शैली र नयाँ संकल्पका साथ अघि बढ्न प्रतिबद्ध रहेको बताए।



