बागमती सरकारबाट एमाले बाहिरिने, आज ६ मन्त्रीले बुझाउने राजीनामा

हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले आज राजीनामा दिने भएका छन्। एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।

सरकारमा एमालेको नेतृत्व गरिरहेका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलका अनुसार सबै मन्त्रीहरूले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर सामूहिक रूपमा राजीनामा बुझाउनेछन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारको सत्ता समीकरणबारे भएको छलफलपछि पार्टीबाट स्पष्ट निर्देशन प्राप्त भएको उनले बताए।

राजीनामा दिने मन्त्रीहरूमा मधुसूदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ रहेका छन्।

मुख्यमन्त्री बानियाँले १ साउनदेखि ६ वटा मन्त्रालय खारेज गरी एउटै मन्त्रालयमा तीन–तीन जना मन्त्रीलाई जिम्मेवारी दिएपछि सरकारको व्यापक आलोचना भएको थियो। एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्नेछ। अब उनले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्