प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध उजुरी, सुनुवाइ मंगलबार

काठमाडौं – प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा एउटा उजुरी परेको छ। संसदीय सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित पदाधिकारीहरूसम्बन्धी कुल दुई वटा उजुरी प्राप्त भएका छन्।

समितिका अनुसार एउटा उजुरी सैद्धान्तिक विषयसँग सम्बन्धित रहेको छ भने अर्को उजुरी मानबहादुर कार्कीलाई लक्षित गरी परेको हो। प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्ले र डा. राजीव सुब्बाविरुद्ध भने कुनै उजुरी परेको छैन।

गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले मोरङ निवासी कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। उनी हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुन्। सरकारी वकिलबाट सेवा सुरु गरेका कार्की पछि न्याय प्रशासनतर्फ प्रवेश गरेका थिए।

सोही बैठकले नेपाल प्रहरीका पूर्व डीआईजी डा. राजीव सुब्बा र निर्वाचन आयोगका पूर्व कर्मचारी गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। डा. सुब्बा सूचना प्रविधि विशेषज्ञका रूपमा नेपाल प्रहरीमा कार्यरत रहेर डीआईजी पदबाट अवकाश भएका हुन् भने वाग्ले सूचना प्रविधि विषयमा अध्ययन–अध्यापनमा संलग्न छन्।

संसदीय सुनुवाइ समितिले प्रस्तावित तीनै जनाविरुद्ध असार २६ गते सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो। निर्धारित समयभित्र दुई वटा उजुरी दर्ता भएका हुन्।

समितिको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ। बैठकमा प्राप्त उजुरी खोल्ने, समिति सदस्यहरूलाई वितरण गर्ने तथा प्रस्तावित पदाधिकारीहरूले पेश गरेका कार्ययोजना पनि सदस्यहरूलाई उपलब्ध गराउने कार्यसूची रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र प्रस्तावित व्यक्तिहरू प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदमा नियुक्त हुनेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्