काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्ने क्रममा सम्पर्कविहीन भएका १४ जना महिला सकुशल घर फर्किएका छन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार आइतबार दिउँसोदेखि सम्पर्कविहीन भएका महिलालाई खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो। खोजीका लागि ड्रोनसमेत प्रयोग गर्ने तयारी भइरहेका बेला महिलाहरू सोमबार दिउँसो आफैँ घर फर्किएका हुन्।
प्रमुख जिल्ला अधिकारी कोइरालाले प्रशासनको टोलीले सबै महिलाको घरमै पुगेर उनीहरू सकुशल रहेको पुष्टि गरेको जानकारी दिएका छन्।
महिलाहरूले च्याउ खोज्दै जाँदा निकुञ्जभित्र बाटो हराएको बताएका छन्। रातभर जंगलमै बसेपछि बिहान उज्यालो भएपछि बाटो पहिचान गर्दै सुरक्षित रूपमा घर फर्किएको उनीहरूको भनाइ छ।
उनीहरू आइतबार बिहान च्याउ खोज्न निकुञ्जमा प्रवेश गरेका थिए। कसैसँग पनि मोबाइल फोन नभएका कारण रातिसम्म घर नफर्किएपछि परिवारका सदस्यले प्रशासन र निकुञ्ज कार्यालयलाई जानकारी गराएका थिए।
सम्पर्कविहीन भएका १४ जनामध्ये नौ जना एउटै परिवारका सदस्य रहेका छन्। उनीहरू चौधरी र दलित समुदायका हुन् र खेतीपाती तथा ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन्।
यसअघि शुक्लाफाँटा क्षेत्रकै बेलडाँडीमा सम्पर्कविहीन भएका तीन जना भने आइतबार नै सकुशल फेला परेका थिए।



