काठमाडौं – लगातारको वर्षापछि आज देशका ३५ जिल्लामा बाढीको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार रुकुम पश्चिम, रोल्पा, अर्घाखाँची र कपिलवस्तुका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले ती क्षेत्रमा बाढीको उच्च जोखिम रहेको छ।
यस्तै काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम र दोलखाका नदी तथा खोलामा पनि बहाव बढ्ने सम्भावना रहेको जनाइएको छ। त्यसैगरी चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, बाँके, बर्दिया, जाजरकोट, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका साना नदी तथा खोलामा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।
महाशाखाले जोखिममा रहेका जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा स्थानीय तहलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी किनार, डुबान हुन सक्ने क्षेत्र र आकस्मिक बाढीको सम्भावना रहेका स्थानमा अनावश्यक आवतजावत नगर्न तथा मौसमसम्बन्धी सूचनालाई निरन्तर पालना गर्न अनुरोध गरिएको छ।




