तीन दिन देशभर वर्षा बढ्ने, भारी वर्षा र हावाहुरीको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर वर्षाको गतिविधि उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। शनिबार राति जारी गरिएको विशेष मौसम बुलेटिनअनुसार आइतबारदेखि वर्षा क्रमशः सक्रिय हुँदै सोमबार थप तीव्र हुने सम्भावना रहेको छ। विशेषगरी सोमबार राति कोशी प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेश प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

वर्षासँगै देशका विभिन्न क्षेत्रमा हावाहुरी चल्ने जोखिम पनि रहेको महाशाखाको भनाइ छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका साथै मधेश प्रदेशका केही स्थानमा तीव्र हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

मौसममा आएको परिवर्तनका कारण बाढी, पहिरो, डुबान, चट्याङ तथा हावाहुरीजस्ता प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले विभागले आफ्नो पछिल्लो मौसम सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ। वर्षा र प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात र कृषि गतिविधिमा असर पर्न सक्ने भएकाले सतर्क भएर मात्र यात्रा तथा अन्य काम गर्न विभागले सुझाव दिएको छ।

यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा तीन दिनअघि, जेठ २८ गते कोशी प्रदेशबाट भित्रिएको थियो। हाल मनसुनी प्रणाली देशभर सक्रिय रहेकाले अधिकांश क्षेत्रमा वर्षाको प्रभाव देखिन थालेको महाशाखाले जनाएको छ। सामान्यतया नेपालमा मनसुन जुन १३ तिर प्रवेश गरी अक्टोबर २ सम्म रहने गर्दछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्