काठमाडौं – नेपालमा मनसुन भित्रिएको एक साताभन्दा बढी समय बितिसक्दा पनि यसको प्रभाव अपेक्षाअनुसार सक्रिय हुन नसक्दा देशका अधिकांश क्षेत्रमा वर्षा न्यून भएको छ। पर्याप्त पानी नपर्दा गर्मी बढेको छ भने धान रोपाइँसमेत प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा भएको छ। यो यस अवधिको औसत २१४ मिलिमिटर वर्षाको करिब ६९.६ प्रतिशत मात्र हो। विभागले यस अवधिमा दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा मापन भएको जनाएको छ।
महाशाखाका अनुसार महिनाको सुरुआती दिनमा वर्षा अत्यन्त कम भए पनि पछिल्ला दिनमा केही सुधार देखिएको छ। तर, वर्षा अझै सामान्य अवस्थासम्म पुग्न सकेको छैन। मौसमविद्हरूले यस वर्ष मनसुन नेपालमा औसत समयभन्दा ढिलो प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर रहेकाले वर्षा कम भएको बताएका छन्। यसले धान रोपाइँ, जलस्रोत व्यवस्थापन र खानेपानी आपूर्तिमा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
हालसम्म मनसुन देशभर फैलिन सकेको छैन। कोशीदेखि लुम्बिनीसम्मका केही क्षेत्रमा मात्रै यसको प्रभाव देखिएको छ भने अन्य स्थानमा विस्तार हुन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ। गएराति भने पूर्वदेखि पश्चिमसम्मका धेरै स्थानमा वर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा, साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो लहर (लु) चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति भने कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।





