चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ। महिला उपसभापति पदमा सोविता गौतम निर्वाचित भएकी छन्। गौतमले ७८९ मत प्राप्त गर्दै प्रतिस्पर्धी तोसिमा कार्कीलाई २१७ मतको अन्तरले पराजित गरिन्। कार्कीले ५७२ मत प्राप्त गरेकी थिइन्। महामन्त्री पदमा विपिनकुमार आचार्य ६७३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी मनिष झाले ३४६, गणेश कार्कीले १६९, सागर ढकालले १३९ र रञ्जु दर्शनाले ३४ मत प्राप्त गरेका छन्।
सहमहामन्त्री पदमा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। शाहले ४७१ र ढकालले ४०४ मत प्राप्त गरेका हुन्। अन्य उम्मेदवारमध्ये पुकार बमले ३३४, यज्ञमणि न्यौपानेले ३००, सुलभ खरेलले २९१, रमेश प्रसाईँले २०७, अशोककुमार चौधरीले १७९, मिलन लिम्बूले १५१, राजीव खत्रीले १४८, विजय जैरुले ११४ र हिमेश पन्तले ५३ मत प्राप्त गरेका छन्।
महिला सहमहामन्त्री पदमा निशा डाँगी ७३७ मतसहित विजयी भएकी छन्। उनका प्रतिस्पर्धी रिमा विश्वकर्माले २८२, कामिनीकुमारी चौधरीले १४६, जमुना शर्माले ८२ र जुली यादवले ७८ मत प्राप्त गरेका छन्।
यसअघि खुला उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए भने सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भएका थिए। महाधिवेशनअन्तर्गत यसअघि सम्पन्न पहिलो चरणको निर्वाचनबाट ९९ जना केन्द्रीय सदस्य चयन भइसकेका छन्। तिनै निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारीका लागि निर्वाचन सम्पन्न भएको हो। साथै, पार्टी संरचनाअनुसार वरिष्ठ नेताको जिम्मेवारी बालेन्द्र शाहले सम्हाल्ने व्यवस्था रहेको छ।





