विश्व बजारमा तेलको मूल्य युद्ध सुरु हुनुअघिको अवस्थाभन्दा पनि सस्तो

काठमाडौं । मध्यपूर्वमा भएको तनाव र युद्धविरामपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। विश्व बजारमा तेलको मूल्य निर्धारणको प्रमुख सूचक मानिने ब्रेन्ट क्रुडको मूल्य युद्ध सुरु हुनुअघिको अवस्थाभन्दा पनि तल झरेको छ। अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गर्नुअघि ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल करिब ७६ अमेरिकी डलर रहेको थियो। युद्ध चर्किँदै जाँदा मूल्य आकासिएर १२० डलरसम्म पुगेको थियो। तर पछिल्लो समय अमेरिका–इरानबीच समझदारी भएपछि युद्ध रोकिएको र आपूर्ति प्रणाली सामान्य बन्दै गएसँगै ब्रेन्ट क्रुडको मूल्य पुनः घटेर करिब ७२ डलर प्रतिव्यारेलमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपाली उपभोक्ताले भने तत्काल राहत पाउने अवस्था छैन। नेपाल आयल निगमका अनुसार नेपालमा कच्चा तेलको होइन, भारतबाट आयात हुने प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा खुद्रा मूल्य निर्धारण गरिन्छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भारतीय आयल निगम (आईओसी) ले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्दछ। त्यसैले विश्व बजारमा मूल्य घटेको प्रभाव नेपाली बजारमा देखिन अझ केही दिन कुर्नुपर्नेछ। आगामी जुलाई १ मा आउने नयाँ मूल्यसूचीपछि मात्रै मूल्य समायोजनको अवस्था स्पष्ट हुने निगमको भनाइ छ।

मध्यपूर्वमा तनाव बढ्नुअघि नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १४२ रुपैयाँ रहेको थियो। युद्धपछि मूल्यमा तीव्र वृद्धि हुँदै पेट्रोल २१७ रुपैयाँ र डिजेल २२५ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १ हजार ९०० रुपैयाँबाट बढेर २ हजार १६० रुपैयाँ पुगेको छ।

विश्व बजारमा कच्चा तेलको मूल्य पुनः घट्दो क्रममा रहेकाले आगामी मूल्यसूचीमा भारतीय आयल निगमले मूल्य घटाए नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना देखिएको छ। यसले महँगीको मार खेपिरहेका उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्