नेपाल टेलिकम अब आफ्नै सफ्टवेयरमा

काठमाडौं – सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले संस्थागत सुधार र डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै आफ्नै प्राविधिक जनशक्तिमार्फत विभिन्न सफ्टवेयर प्रणाली विकास गर्न थालेको छ। बाह्य कम्पनीबाट सफ्टवेयर खरिद गर्ने पुरानो अभ्यासलाई क्रमशः विस्थापित गर्दै टेलिकमले आन्तरिक रूपमा आवश्यक प्रणाली निर्माणलाई प्राथमिकता दिएको हो।

टेलिकमले खरिद व्यवस्थापन, कर्मचारी ड्युटी व्यवस्थापन, बैठक सञ्चालन तथा निर्णय अभिलेखीकरणलगायतका विभिन्न कार्यलाई डिजिटल माध्यमबाट सञ्चालन गर्न ‘इन–हाउस’ सफ्टवेयर विकास गरी प्रयोगमा ल्याउन थालेको जनाएको छ। कम्पनीका प्रवक्ता कमल लामिछानेका अनुसार आन्तरिक कार्यप्रणालीलाई स्वचालित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यसहित आफ्नै इन्जिनियरहरूको क्षमताको उपयोग गरिएको हो।

हाल टेलिकमले ‘प्रोक्योरमेन्ट म्यानेजमेन्ट सिस्टम’ सञ्चालनमा ल्याइसकेको छ। यस प्रणालीमार्फत खरिद योजना, बोलपत्र प्रक्रिया, सम्झौता व्यवस्थापन तथा अनुगमन कार्य डिजिटल माध्यमबाट सञ्चालन हुनेछन्। यसले खरिद प्रक्रियामा पारदर्शिता र एकरूपता कायम गर्नुका साथै प्रशासनिक ढिलासुस्ती घटाउने अपेक्षा गरिएको छ। त्यसैगरी ‘ड्युटी चार्ट म्यानेजमेन्ट सिस्टम’ मार्फत देशभरका कार्यालयमा कार्यरत प्राविधिक तथा कर्मचारीहरूको जिम्मेवारी, कार्यसमय र सम्पर्क विवरण सहज रूपमा व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको छ। सेवा अवरोध वा प्राविधिक समस्या देखा पर्दा जिम्मेवार कर्मचारीलाई तुरुन्त सम्पर्क गर्न यसले सहयोग पुर्‍याउने टेलिकमको दाबी छ।

बैठक व्यवस्थापनलाई आधुनिक बनाउन ‘मिटिङ म्यानेजमेन्ट सिस्टम’ पनि सञ्चालनमा ल्याइएको छ। बैठकका एजेन्डा तय गर्ने, सहभागी व्यवस्थापन गर्ने तथा निर्णय अभिलेखीकरण गर्ने काम अब डिजिटल माध्यमबाट हुने भएको छ। प्रणालीले बैठकको जानकारी एसएमएस र इमेलमार्फत स्वतः पठाउने सुविधा समेत उपलब्ध गराएको छ। यसअघि नै ग्राहक सेवा, रिचार्ज, परीक्षाफल सेवा, फाइबर इन्टरनेट व्यवस्थापन तथा नेटवर्क निगरानीका विभिन्न प्रणालीहरू पनि आन्तरिक रूपमा सञ्चालन भइरहेको टेलिकमले जनाएको छ। जाबिक्स, नेटबक्स, नागियोस, क्याक्टी, स्मोकपिङ लगायतका प्रविधिको प्रयोग गरेर नेटवर्कको चौबीसै घण्टा निगरानी गरिँदै आएको छ।

टेलिकमले आगामी दिनमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक फाइल व्यवस्थापनलाई पूर्ण रूपमा अनलाइन बनाउने लक्ष्यसहित ‘वर्कफ्लो म्यानेजमेन्ट सिस्टम’ विकास गरिरहेको छ। यससँगै ‘युनिफाइड टिकटिङ सिस्टम’ निर्माण गरी नेटवर्क उपकरण र ग्राहक गुनासो व्यवस्थापनलाई एउटै प्लेटफर्ममा ल्याउने तयारी पनि भइरहेको छ। कम्पनीले केही वर्षअघि स्थापना गरेको विशेष ‘सफ्टवेयर युनिट’ मार्फत यी सबै प्रणाली विकास भइरहेका छन्। हाल उक्त युनिटमा थप प्राविधिक जनशक्ति परिचालन गरी आवश्यक सफ्टवेयरहरू स्वदेशी रूपमा निर्माण गर्ने कार्यलाई निरन्तरता दिइएको छ।

टेलिकमका प्राविधिकहरू पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा विकसित हुँदै गएको ‘भाइब कोडिङ’ शैलीको प्रयोग गरेर सफ्टवेयर निर्माण गरिरहेका छन्। यस प्रविधिबाट आवश्यक प्रणालीको अवधारणा एआईलाई दिई छिटो र प्रभावकारी रूपमा कोड तयार गर्न सकिने भएकाले सफ्टवेयर विकासको गति उल्लेखनीय रूपमा बढेको कम्पनीका इन्जिनियरहरू बताउँछन्। नेपाल टेलिकमले आफ्नै जनशक्तिबाट विकसित डिजिटल प्रणालीमार्फत संस्थालाई पूर्ण रूपमा पेपरलेस, आधुनिक र ग्राहक केन्द्रित सेवा प्रदायक बनाउने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार डिजिटल रूपान्तरणको यो अभियानले सेवा प्रवाह, सुशासन र कार्यकुशलतामा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्