महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन काठमाडौं फर्किए

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन जारी रहँदा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह काठमाडौं फर्किएका छन्। गत असार ७ गते श्रीमती र छोरीसहित चितवन पुगेका शाह आज बुद्ध एयरको उडानमार्फत काठमाडौं फर्किएका हुन्। उहाँसँगै सचिवालयका केही सदस्यहरू पनि राजधानी फर्किएको जनाइएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गरेका शाहले चितवन बसाइका क्रममा विभिन्न गतिविधिमा सहभागिता जनाएका थिए। उद्घाटन कार्यक्रमपछि उहाँले चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्रको भ्रमणसमेत गर्नुभएको थियो। महाधिवेशनको बन्दसत्रमा भने शाह सोमबार साँझ सहभागी भएका थिए। करिब डेढ घण्टासम्म बन्दसत्रमा बसेका उहाँले पार्टी सभापति पदका उम्मेदवार रवि लामिछानेको प्रस्तावकको भूमिका निर्वाह गर्नुभएको थियो।

चितवन बसाइका क्रममा प्रधानमन्त्री शाह कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए। सोही रिसोर्टमा खिचिएको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै उहाँले “भिजिट चितवन, न्यानो ठाउँ” लेख्नुभएको छ। रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत अहिले बन्दसत्र र नेतृत्व चयनको प्रक्रिया जारी छ। महाधिवेशनबाट १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ। महाधिवेशन मंगलबारसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्