चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या ४ हजार २११ निर्धारण गरिएको छ। सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्रियामार्फत प्रतिनिधि चयन गरिएको पार्टीले जनाएको छ। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशमा रहेका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि चयन भएका छन्। यस्तै, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन गरिएका छन् भने विभिन्न समूहगत रूपमा पार्टी प्रवेश गरेका व्यक्तिमध्ये १९२ जनालाई प्रतिनिधि बनाइएको छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी प्रतिनिधित्व बागमती प्रदेशबाट रहेको छ। बागमतीबाट ७९४ जना प्रतिनिधि सहभागी हुनेछन्। त्यसपछि मधेश प्रदेशबाट ६३०, लुम्बिनीबाट ६२१, सुदूरपश्चिमबाट ५०५, गण्डकीबाट ४५४, कोशीबाट ३६४ तथा कर्णालीबाट ३४३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। महाधिवेशन प्रतिनिधिको संरचनामा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जनाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिएको छ। साथै प्रदेश समितिका सबै सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग तथा सल्लाहकार परिषद्का पदाधिकारीहरू पनि प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।
यसैगरी, संघीय नेतृत्व मञ्चका सम्पूर्ण केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११-११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट समेत ११/११ जनाको प्रतिनिधित्व रहेको छ। स्थानीय तहबाट पनि समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको छ। प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना तथा महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन भएका छन्। प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ।
रास्वपाले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनेर पराजित भएका व्यक्ति, समानुपातिक सूचीमा रहेका सदस्य तथा पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका व्यक्तिहरूलाई समेत महाधिवेशन प्रतिनिधिको जिम्मेवारी दिएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यहरू पनि महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका छन्। पार्टी स्थापना भएको चार वर्ष नपुग्दै हुन लागेको पहिलो राष्ट्रिय महाधिवेशनलाई रास्वपाले आफ्नो संगठनात्मक सुदृढीकरण, वैचारिक दिशा निर्धारण तथा नयाँ नेतृत्व चयनको ऐतिहासिक अवसरका रूपमा लिएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनले १९ पदाधिकारीसहित १५८ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ।





