कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

काठमाडौँ । हाल देशमा मनसुनी वायु आंशिक रूपमा सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी वायुको प्रभाव रहे पनि अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ। यसको प्रभावले देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका धेरै स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ। उता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो लहर (हिटवेभ) को प्रभाव कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि अत्यधिक गर्मी अर्थात् ‘तातो दिन’ रहने अनुमान गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकीका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपासका बासिन्दा तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्