सरकारको नेतृत्व गरिरहेको रास्वपाको पहिलो महाधिवेशन आजदेखि

चितवन – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनमा देश तथा विदेशबाट झण्डै चार हजार प्रतिनिधि, नेता तथा कार्यकर्ताको सहभागिता रहने भएको छ।

२०७९ सालमा स्थापना भएको रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति बनाउँदै सरकारको नेतृत्व गरिरहेको अवस्थामा हुन लागेको यो महाधिवेशनलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको पार्टीले जनाएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनका काम सम्पन्न भएका छन् भने राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन पनि तयारी अवस्थामा छन्। महाधिवेशनअघि शनिबार बसेको केन्द्रीय समिति बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गरिसकेको छ। बन्दसत्र उद्योग संघ चितवनको सभाहलमा सञ्चालन हुनेछ।

महाधिवेशनले १९ पदाधिकारीसहित १५८ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ। साथै पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने जनाइएको छ। रास्वपाका अनुसार महाधिवेशनमा कुल तीन हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्। तीमध्ये ३०० प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको छ।

पार्टीले हाल आफ्नो सदस्य संख्या पाँच लाख पुगेको दाबी गरेको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार देशभरका ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा संगठनात्मक अधिवेशन सम्पन्न गरिएको छ। यस्तै छ प्रदेशका ६४ जिल्लामा अधिवेशन सम्पन्न भई प्रतिनिधि छनोट भइसकेका छन्। मधेश प्रदेश र अधिवेशन हुन बाँकी रहेका १३ जिल्लाबाट भने तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको उनले जानकारी दिए।

नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको रास्वपाको यो महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण र भावी रणनीति निर्माणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्