चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ। पार्टीको प्रथम महाधिवेशनअघि चितवनमा आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राजनीतिक परिवर्तनको आधारमा आफूहरू अघि बढिरहेको उल्लेख गर्दै लोकतन्त्रबाट कहिल्यै विमुख नहुने स्पष्ट पार्नुभयो। “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान र वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई यहाँसम्म ल्याएको छ।
हामी यही परिवर्तनको जगमा उभिएका छौँ र यसमा गर्व गर्छौँ,” उहाँले भन्नुभयो, “हामी लोकतन्त्रबाट कुनै पनि अवस्थामा विमुख हुने छैनौँ।”सभापति लामिछानेले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन नसके राजनीतिक दलहरू दुर्घटनामा पर्न सक्ने चेतावनी दिनुभयो। राजनीतिक दलभित्र हुने असन्तुलन र विवादको मूल्य समाज र राष्ट्रले समेत चुकाउनुपर्ने भएकाले सबै नेता-कार्यकर्ता जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो। उहाँले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने तर अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहनुपर्नेमा जोड दिँदै जुनसुकै भूमिकामा रहे पनि जिम्मेवार नागरिकको रूपमा प्रस्तुत हुन निर्देशन दिनुभयो।
रास्वपालाई थप व्यवस्थित, सशक्त र गतिशील बनाउने विश्वास व्यक्त गर्दै लामिछानेले आगामी महाधिवेशन पार्टीका लागि ऐतिहासिक र सफल हुने अपेक्षा पनि व्यक्त गर्नुभयो।





