काठमाडौं – विश्व वातावरण दिवस २०२६ को अवसरमा काठमाडौंको पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल स्कुलले विविध जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै वातावरण संरक्षणप्रति विद्यार्थीहरूलाई प्रेरित गरेको छ। ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नारासहित आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले वृक्षारोपण, बिरुवा वितरण तथा वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक प्रस्तुति गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले हरियाली प्रवर्द्धन, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा स्वच्छ वातावरण निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी पोस्टर तथा सन्देशमूलक ब्यानर प्रदर्शन गर्दै जलवायु परिवर्तनका असर र त्यसको न्यूनीकरणका उपायबारे जनचेतना फैलाउने प्रयास गरेका थिए। उनीहरूले “रुख रोपौँ, पृथ्वी बचाऔँ”, “पुनः प्रयोग गरौँ”, “हरियाली बढाऔँ” लगायतका सन्देशमार्फत वातावरणीय जिम्मेवारीबारे सचेत गराएका थिए।

विद्यालयका अनुसार वातावरण संरक्षण केवल एक दिनको कार्यक्रम नभई दैनिक जीवनशैलीको हिस्सा बन्नुपर्ने भएकाले विद्यार्थीहरूलाई सानै उमेरदेखि प्रकृतिप्रति जिम्मेवार बनाउने उद्देश्यले यस्ता गतिविधि सञ्चालन गरिएको हो। कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले बिरुवा रोप्दै वातावरण संरक्षणका लागि व्यक्तिगत तथा सामूहिक रूपमा योगदान दिने प्रतिबद्धता जनाएका थिए।
नेक्सस् इन्टरनेशनल स्कुलका संस्थापक प्रिन्सिपल आरबी कटवालले वातावरण संरक्षण आजको विश्वकै साझा चुनौती भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई प्रकृतिमैत्री व्यवहार अपनाउन प्रेरित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नेक्सस इन्टरनेशनल एकेडेमीले विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको यस कार्यक्रमले विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै हरित र दिगो भविष्य निर्माणतर्फ सकारात्मक सन्देश प्रवाह गरेको विद्यालयले जनाएको छ।






