काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्को रोष्ट्रमबाट राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
एमालेद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीले संसद्मा कुनै कार्यसूची वा कार्यक्रम नभएको अवस्थामा सीमा विवादसँग सम्बन्धित विषय उठाएको भन्दै ओलीले त्यसको औचित्यमाथि प्रश्न उठाए।
‘उहाँले नेपालले भारतको जमिन मिचेको धेरै ठाउँमा छ भनेर भन्नुभयो। असत्य, झुट र राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुभयो। त्यो बोल्न हुँदैन थियो। कसको पक्षमा र के का लागि बोलियो ?’ ओलीले भने।
प्रधानमन्त्रीको व्यवहारलाई उनले ‘बचपना’को संज्ञा दिँदै संसद् जस्तो संवेदनशील मञ्चको प्रयोग जिम्मेवार ढंगले हुनुपर्ने धारणा राखे।
ओलीले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपाली जनताको भावना र राष्ट्रिय स्वाभिमानमाथि चोट पुगेको दाबी गरे। ‘न कार्यक्रम थियो, न कार्यसूची। अचानक यस्तो विषय उठाएर बोल्नुको उद्देश्य के थियो ? नेपाली जनतालाई हेप्नका लागि योभन्दा उपयुक्त ठाउँ अरू हुन सक्दैन,’ उनले भने।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसद्मा समेत विवाद चर्किएको छ भने विपक्षी दलहरूले तथ्य सार्वजनिक गर्न वा अभिव्यक्ति फिर्ता लिएर माफी माग्न माग गर्दै आएका छन्।






