काठमाडौं – सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्तामा रोक लगाएको छ । बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायात क्षेत्रमा देखिएको अव्यवस्थालाई नियन्त्रण गर्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको हो । यातायात व्यवस्था विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीयसहित सार्वजनिक गाडीको नयाँ दर्ता तत्काल रोक्न निर्देशन दिएको जनाएको छ ।
विभागका अनुसार इन्धनको बढ्दो मूल्य, सडकमा अत्यधिक सवारी चाप तथा यातायात व्यवस्थापनमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापनका लागि दर्ता रोक्ने निर्णय गरिएको हो । सवारी तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको अवस्था वा सार्वजनिक हितका अन्य कारण देखिएमा विभागले कुनै पनि प्रकारका सवारी साधनको दर्ता रोक्न सक्ने व्यवस्था रहेको छ ।
विभागले अर्को सूचना जारी नभएसम्मका लागि यो निर्णय तत्काल लागू हुने जनाएको छ ।






