काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा एकपटक आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति का अनुसार यो अधिकमास आगामी असार १ गतेसम्म रहनेछ । ज्योतिषीय गणनाअनुसार सौर वर्ष र चान्द्र वर्षबीच समय अन्तर समायोजन गर्न अधिकमास पर्ने गर्दछ । एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपरेको महिनालाई अधिकमास वा मलमास भनिने शास्त्रीय मान्यता रहेको ज्योतिष तथा वास्तुविद् शिवप्रसाद पोखरेल ले बताउनुभयो ।
उहाँका अनुसार चान्द्र महिनाभित्र दुईवटा सङ्क्रान्ति परे त्यसलाई ‘क्षयमास’ भनिन्छ । ज्योतिषाचार्य भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणि मा अधिकमास र क्षयमासको स्पष्ट व्याख्या गरेको उल्लेख गरिएको छ । धार्मिक मान्यताअनुसार अधिकमासलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । विभिन्न धर्मग्रन्थमा भगवान् श्रीकृष्णले मलमासलाई “पुरुषोत्तममास” नाम प्रदान गरेको उल्लेख गरिएको छ । त्यसैले यो महिनामा विशेष रूपमा भगवान् विष्णु तथा नारायणको पूजा-आराधना गर्ने परम्परा रहेको छ ।
धर्मशास्त्रविद् देवमणि भट्टराई का अनुसार अधिकमासमा नित्य पूजा, जप, ध्यान, पाठ तथा पहिलेदेखि गर्दै आएको व्रतलाई निरन्तरता दिन सकिने भए पनि विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ घर निर्माण, गर्भाधानजस्ता माङ्गलिक कार्य गर्न निषेध गरिएको छ । यसैबीच अधिकमाससँगै काठमाडौंको दक्षिणपश्चिम क्षेत्रमा रहेको मच्छेनारायण मन्दिर मा विशेष मेला सुरु भएको छ । मलमास अवधिभर यहाँ लाखौँ भक्तजन दर्शनका लागि आउने गर्दछन् ।
घनश्याम गिरी का अनुसार मच्छेनारायण क्षेत्रमा पुरुषोत्तममास माहात्म्य वाचन, नारायण पूजा तथा धार्मिक अनुष्ठान सञ्चालन हुनेछन् । पुराणअनुसार भगवान् विष्णुले लिएका दश अवतारमध्ये पहिलो मत्स्य अवतारसँग सम्बन्धित यो मन्दिर धार्मिक दृष्टिले विशेष महत्त्वपूर्ण मानिन्छ । मन्दिरमा मत्स्यरूपमा भगवान् विष्णुको मूर्ति रहेको छ । यसअघि २०८० सालको साउन महिनामा अधिकमास परेको थियो । अधिकमास अवधिभर वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने तथा कथा श्रवण गर्ने परम्परा रहेको छ ।





