यस वर्ष मनसुनजन्य विपद्का कारण देशभर करिब २ लाख २६ हजारबढी प्रभावित हुने आकलन

काठमाडौं – यस वर्ष मनसुनजन्य विपद्का कारण देशभर करिब २ लाख २६ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरका करिब ५१ हजार ८ सय ६८ घरधुरीका २ लाख २६ हजार ६ सय ६१ जना प्रभावित हुन सक्ने अनुमान सार्वजनिक गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ । यसका कारण उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटनको जोखिम बढ्ने तथा तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान र आकस्मिक बाढीजस्ता विपद् निम्तिन सक्ने सम्भावना औँल्याइएको छ । कार्यकारी समितिको हिजो बसेको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ स्वीकृत गरेको छ । साथै खोज तथा उद्धार टोली गठन तथा परिचालनसम्बन्धी मापदण्ड, २०८३ लाई परिमार्जनसहित अनुमोदन गरिएको छ ।

समितिका अनुसार नयाँ व्यवस्थाले विपद् हुनेबित्तिकै सरकारी संयन्त्रहरू स्वतः परिचालित हुने कानुनी आधार तयार गरेको छ । विपद्का समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूप बनाउन ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३’ पनि स्वीकृत गरिएको छ ।

बैठकले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ मा समेत केही संशोधन गरेको छ । साथै भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाईहरूमा २१ जना प्राविधिक जनशक्ति खटाउने निर्णय गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्