नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३:४५ बजेअघि नै उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई संसद् सचिवालयले अनुरोध गरेको छ । यसअघि आज अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्रबारे जानकारी गराइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचनाबारे सदनलाई अवगत गराइने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस गर्ने तथा बाधा अड्काउ फुकाउ अनुमोदनसम्बन्धी प्रस्ताव पेस गरिने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । साथै सरकारले जारी गरेका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ सहित आठ वटा अध्यादेश दुवै सदनमा पेस गरिने भएका छन् ।