काठमाडौँ- नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ । यसको असरका कारण देशका विभिन्न भागमा बदली, वर्षा र मेघगर्जन भइरहेको छ । हाल मधेश, बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा पनि हल्का देखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ । तराईका केही स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुनसक्ने जनाइएको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ । यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार सोमबार रातिदेखि सुदूरपश्चिम प्रदेशमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ । मंगलबार बिहान काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा पनि हावाहुरीसहित वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका धेरैजसो स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । विभागका अनुसार जेठ १८ देखि असोज १४ सम्म रहने मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने सम्भावना छ । नेपालमा वर्षभर हुने कुल वर्षाको झण्डै ८० प्रतिशत पानी मनसुन अवधिमै पर्ने भएकाले कम वर्षा र अत्यधिक गर्मीले विशेषगरी कृषि क्षेत्रमा असर पार्न सक्ने विज्ञहरूले बताएका छन् । कृषिमा हुनसक्ने क्षति न्यूनीकरणका लागि समयमै तयारी गर्न कृषि विज्ञहरूले सुझाव दिएका छन् ।





