प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादव सहित सात जनाविरुद्ध ११ लाख ६९ हजार ७६० रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आरोपितहरूमा वडा नं. १२ का तत्कालीन वडाध्यक्ष गङ्गाबहादुर पुन, इन्जिनियर खुबिराज शाही, सब–इन्जिनियर कमलप्रसाद केसी, योजना शाखा प्रमुख चित्रबहादुर केसी, कृषि प्राविधिक ओम प्रकाश ओली, सह–लेखापाल नवराज खड्का, पुथा हिमालयन अर्गानिक कृषि प्रा.लि. तथा सोका अध्यक्ष सुजन पुन रहेका छन्।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कागती पकेट विकास कार्यक्रम सञ्चालनका क्रममा सम्झौता अनुसार काम नगरी फिल्डमा नभएको कार्यलाई नापी किताबमा देखाई बढी मूल्याङ्कन गरी भुक्तानी लिएको पाइएको छ। यसरी सरकारी रकम हिनामिना, हानि-नोक्सानी तथा दुरुपयोग गरिएको आरोप छ।

उक्त प्रकरणमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर ठहर गर्दै ११ लाख ६९ हजार ७६० रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरिएको छ। आयोगले मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्