काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी-व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गर्नुभएको छ। काठमाडौंमा आयोजित छलफलमा उहाँले निजी क्षेत्र सरकारप्रति सशङ्कित हुनुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्नुभयो। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा लामिछानेले निजी क्षेत्र डराएको अनुभूति भएपछि संवाद आवश्यक ठानेर छलफल आयोजना गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन। हामी व्यवसायीलाई दुःख दिने पक्षमा छैनौँ।” केही सीमित समूहले अर्थतन्त्रलाई नियन्त्रण गर्ने प्रयास गरेको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुनुपर्ने पनि उहाँको भनाइ थियो। लामिछानेले वास्तविक आर्थिक विकासका लागि निजी क्षेत्रका समस्या समाधान अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि आफ्नो पार्टीले स्पष्ट ‘रोडम्याप’ तयार गरिसकेको जानकारी दिनुभयो। साथै, समस्या समाधानका लागि व्यवसायीहरूलाई नेताको घर वा पार्टी कार्यालय धाउन नपर्ने व्यवस्था गरिने पनि उहाँले स्पष्ट पार्नुभयो।
छलफलमा चन्द्र ढकालले निजी क्षेत्रलाई शान्तिपूर्ण रूपमा काम गर्न दिनुपर्ने माग राख्दै आन्दोलनका क्रममा व्यवसाय क्षेत्रलाई निशाना बनाउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो। त्यस्तै वीरेन्द्रराज पाण्डेले पूँजी निर्माण घट्दै गएको अवस्थामा निजी क्षेत्रलाई थप प्रोत्साहन आवश्यक रहेको धारणा राख्नुभयो। यसैगरी दीपक मलहोत्रा ले स्पष्ट बहुमतसहितको सरकारप्रति ठूलो अपेक्षा रहेको उल्लेख गर्दै आर्थिक सुधार र विकास निर्माणमा प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो।






