काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल प्रणाली निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ।
शनिबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्नुभयो।
मन्त्री तिमिल्सिनाले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, स्टार्टअप समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पूर्ण सरोकारवालामा शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा अघि बढिरहेको बताउनुभयो। साथै दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
नागरिक एपलाई थप सुदृढ र प्रभावकारी बनाउँदै राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल माध्यमबाट सहज रूपमा उपलब्ध गराउने व्यवस्था विस्तार गरिँदैछ।
मन्त्री तिमिल्सिनाले नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, तथ्यांक अर्थतन्त्र तथा कृत्रिम बुद्धिमत्ता क्षेत्रको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति, राष्ट्रिय साइबर सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी र संस्थागत सुधारलाई तीव्रता दिइएको बताउनुभयो।
देशभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डाटा सेन्टर सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि तथा दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्ने सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ।
उहाँले डिजिटल रूपान्तरण सरकार मात्रको प्रयासले सम्भव नहुने भन्दै निजी क्षेत्र, शैक्षिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम, प्रविधि समुदाय तथा नागरिकको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।






