काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थामा दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बेलुका देशभरिका विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको लामो छलफलका क्रममा यस्तो निर्देशन दिनुभएको हो । उहाँले विश्वविद्यालय र प्रतिष्ठानमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान राख्दै दलीय संरचना हटाउन स्पष्ट निर्देशन दिनुभयो ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक दलसँग आबद्ध विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पार्दै अस्पताल, क्याम्पस र विद्यालयजस्ता संस्थामा दलको झण्डा, प्रभाव वा सङ्गठन नराख्न जोड दिनुभयो ।
उपकुलपतिहरूले भने पछिल्लो समय विद्यार्थी राजनीतिक गतिविधि सुस्त बन्दै गएको र त्यस्ता सङ्गठन हटाउने पहल भइरहेको जानकारी दिएका थिए । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले विद्यार्थी राजनीति हस्तक्षेप र तालाबन्दी अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रधानमन्त्री शाहले यस्ता संरचना हटाउने क्रममा सुरक्षा वा अन्य कुनै समस्या आए तत्काल सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा जानकारी गराउन निर्देशन दिनुभएको छ ।
यसैगरी, उहाँले परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न पनि निर्देशन दिनुभयो । सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप, गुणस्तर गिरावट र विद्यार्थीको वास्तविक आवाज नसमेटिने समस्यालाई समाधान गर्न यस्तो कदम अघि सारिएको जनाइएको छ ।






