गृहमन्त्रीमाथि निष्पक्ष छानबिनका लागि तत्काल पदबाट बर्खास्त गर्न माग

काठमाडौं – जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी वक्तव्यमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यसले स्वार्थको द्वन्द्व निम्त्याउने उल्लेख गरिएको छ । मन्त्रीकै ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत हुने भएकाले निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग आवश्यक रहेको जिकिर गरिएको छ ।

मुभमेन्टले बालेन शाह नेतृत्वको सरकारसँग मन्त्री नियुक्ति र बर्खास्तीलाई कच्चा राजनीतिक खेल नबनाउन आग्रह गर्दै क्याबिनेट गठनलाई गम्भीर नैतिक र राजनीतिक विषयका रूपमा लिनुपर्ने जनाएको छ ।

वक्तव्यमा सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने चेतावनी दिँदै ७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको सम्मान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ ।

व्यापारी दीपक भट्टसँगको साझेदारीको विषय सार्वजनिक भएपछि मन्त्री गुरुङ विवादमा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्