काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कार्यालयका अनुसार देशभर गणक तथा सुपरिवेक्षकहरू परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् । आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूलाई गणनामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै मुलुकको समग्र आर्थिक अवस्थाको यथार्थ तथ्याङ्क सङ्कलनमा सहयोग गर्न अपिल गर्नुभएको छ ।
गणनामा १८ वटा आर्थिक क्षेत्रअन्तर्गत उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सरकारी संस्थाको सङ्ख्या, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गरिनेछ । साथै दर्ता भएका वा नभएका साना–ठूला व्यवसाय, स्वरोजगार प्रतिष्ठान, विद्यालय, अस्पताल, गैरसरकारी संस्था लगायत सबै क्षेत्र समेटिनेछन् ।
यसअघि २०७५ सालमा गरिएको आर्थिक गणनामा देशभर ९ लाख २३ हजारभन्दा बढी प्रतिष्ठान सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको थियो ।







