काठमाडौं – प्रतिनिधिसभा को सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बसेको प्रतिनिधिसभा बैठकमा सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसी ले अर्याल सभामुखमा औपचारिक रूपमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । आजको कार्यसूचीअनुसार रवि लामिछाने ले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्साल ले समर्थन गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति अर्यालले गत शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता गर्नुभएको थियो र उहाँको एकल उम्मेदवारी परेको थियो । अर्याल गत फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–९ बाट निर्वाचित हुनुभएको हो । यसअघि उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत भइसकेका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । यसैबीच, राष्ट्रियसभा को बैठक केहीबेरमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्नेछन् भने अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तोकिनेछ । कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह ले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको पद्यप्रसाद पाण्डेय ले जानकारी दिनुभएको छ ।







